सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ।

आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएको छ। पुलमाथि बाढी बग्न छोडे पनि आउजाउ भने खोलेको छैन। पुलमाथि थेग्रिएको फोहोर लेदो पन्छाउने काम भईरहेको छ।

सप्तकोशी नदीको इतिहासमै दोस्राे पटक उच्च बहाव रेकर्ड गरिएको बताइएको छ। सप्तकोशीमा छ लाख ६१ हजार पाँच प्रति सेकेन्ड क्युसेक पानी बगेर ५६ वर्षपछि दोस्राे पटक उच्च रेकर्ड कायम गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार बिहान ७ बजे छ लाख ५५ हजार ३७० प्रति सेकेन्ड क्युसेक पानी बगेको थियो भने बिहान ९ बजे छ लाख २८ हजार १४५ प्रति सेकेन्ड क्युसेक पानी बगिरहेको छ। बिहान ११:३० बजेको मापन अनुसार सप्तकोशी नदिमा पानीको बहाव ५ लाख ८२ हजार क्युसेक पुगेको छ। यद्यपी ५६ वटै ढोकाहरु खुलेका छन् र अति जोखिमको अवस्था तथा HIGH RED ALERT भने कायम छ। सन् १९६८ सालमा कोशीमा सात लाख ८८ हजार दुई सय क्युसेक पानी बगेको थियो।