सरकारले आजदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन पालिकाहरुलाई आग्रह गरेको छ। 
शनिवार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपद्सम्बन्धी आकस्मिक बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर तीन दिन विद्यालय बिदा गर्न पालिकाहरुलाई अनुरोध गरेको हो।
मन्त्रालयले वर्षाजन्य प्रकोपका कारण विद्यालय भवनमा क्षति भएको, विद्यार्थी तथा अभिभावक बाढी पहिरोको चपेटामा परेको र यातायात सेवा पनि अवरुद्ध भएका भन्दै विद्यालय बिदा दिन भनेको छ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विश्वविद्यालयलगायत सबै शैक्षिक संस्थाको परीक्षा स्थगित गरी परिवेश अनुमान गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको थियो।