बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले मकवानपुरको भैँसे–भीमफेदी सडक खण्डमा पहिरोका कारण अवरुद्ध सडकको अनुगमन गरेका छन्।
शनिवार मन्त्री काफ्ले मकवानपुरको विपद् व्यवस्थापन समितिको टोलीसहित हेटौँडाबाट काठमाडौँ जाने अवरुद्ध भैँसे–भीमफेदी सडक खण्डको पहिरो स्थल अनुगमन गरेका हुन्।
बिहीबारदेखिको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ), कुलेखानी खेलाखेल काठमाडौँ, कुलेखानी माता तीर्थ काठमाडौँ र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएको छ।
अनुगमनका क्रममा मन्त्री काफ्लेले पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौँबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने सवारीसाधनहरु रोकिएकोले द्रुत गतिमा काम सम्पन्न गराई यात्रुलाई सहज बनाउन निर्देशन दिएका छन्।
अनुगमनमा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, मकवानपुर प्रहरी प्रमुख सिताराम रिजाललगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।