सरकारले विपदमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ। शनिवार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठकले घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।
उनले भने, ‘नेपाल सरकारको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आपत्कालीन समन्वयात्मक बैठक बसेको हो। बैठकले दुई तीन दिन लगातार परिरहेको भारी वर्षाका कारणले धेरै ठाउँमा नोक्सान भएको छ। सरकारले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ।
साथै क्षतिपूर्ति दिने समेत निर्णय गरेका छौँ। भारी वर्षामा परेका परीक्षाहरु समेत स्थगित गरिएका छन्। यस्तै घाइतेहरु निःशुल्क उपचार त गर्ने गरेका छौँ तर सबै घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेका छौँ। तत्काल अविलम्ब अवरुद्ध भएका सडकहरु खोल्ने निर्णय समेत गरेका छौँ।’
साथै तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने समेत निर्णय भएको छ। विद्युत्, खानेपानी टेलिफोनलगायत अवरुद्ध भएकाहरुको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने गुरुङले बताए। मृतकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने समेत बैठकले निर्णय गरेको छ।