संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शिक्षा र रोजगारका क्षेत्रमा कोरिया सरकारले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका छन्।
शनिवार नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ स्वर्ण जयन्तीको अवसरमा  कोरिया राजदूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।
मन्त्री पाण्डेले भने, ‘कोरिया र सरकारबीच सम्बन्ध निकै राम्रो छ। कुनै पनि कोणबाट सम्बन्ध नराम्रो छैन। आगामी दिनमा अझै प्रगाढ बनाउने छौँ। नेपालको विकासका निम्ति शिक्षा, जलस्रोत कृषिका क्षेत्रमा पुर्‍याएको योगदानप्रति कृतज्ञ छौँ।’
मन्त्री पाण्डेले कोरियाले ५० हजार नेपालीहरू रोजगार दिइरहेकोमा कोरियाली सरकारप्रति धन्यवाद ज्ञापन गरे। प्रत्येक वर्ष  दुई करोड भन्दा बढी कोरियाली पर्यटकहरू विश्वमा घुम्ने गरेको र त्यसमध्ये नेपालमा आउने कोरियाली पर्यटकको सङ्ख्या १० वटा देशमध्ये टप टेनमा परेको उल्लेख गरे।
मन्त्री पाण्डेले कोरियाली सरकार माध्यमबाट नेपाल आएर अध्ययन, अनुसन्धान, भ्रमण गर्नका लागि आव्हान गरे। उनले सांस्कृतिक आदान प्रदानका गर्दै दुईदेशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तार हुनेमा विश्वास व्यक्त गरे। नेपाल-कोरियामैत्री सम्बन्धको अवसरमा कोरियाली दूतावासले कला परिषद्मा कोरियाको कला संस्कृति सम्बन्धी डिजिटल मार्फत प्रदर्शनी समेत गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले कोरिया र नेपाल भौगोलिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा नजिक भएको उल्लेख गरे।
उनले ‘हाल कोरियामा करिब ५० हजार हाराहारी नेपाली कामदार कार्यरत रहेको जानकारी गराए। त्यसैगरी, कोरिया र नेपालबीचका समानताको विषय पनि उल्लेख गरे। यस्तै, उनले कला सांस्कृतिक आधारित कार्यक्रमले दुई देशका जनतालाई आत्मीय बनाउन सहयोग पुग्ने बताए।