अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी कोशी प्रदेशमा ६ जनाको मृत्यु भएको छ। अन्य ८ जना बेपत्ता छन् भने १ जना घाइते भएको प्रहरीले जनाएको छ।

पहिरोमा परी मृत्यु हुनेहरूमा धनकुटामा २, पाँचथरमा ३ र इलाममा १ जना रहेका छन्। बेपत्ता हुनेहरूमा झापामा ३, मोरङमा १ र पाँचथरमा ४ जना रहेका छन्।

शनिबार बिहान पहिरोले घर बगाउँदा धनकुटामा आमा छोरीको मृत्यु भएको छ। आज बिहान ३ः१५ बजेतिर पाख्रिवास नगरपालिका-५ बस्ने सन्तोष तामाङको घर भत्काउँदा उनकी श्रीमती र सासू आमाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

सन्तोषकी श्रीमती ३०र३२ की आशा तामाङ र आशाकी आमा ५० वर्षकी रामकुमारी तामाङको घरले किचेर मृत्यु भएको हो। 

घर माथिबाट पहिरो आउन थालेपछि घरभित्र रहेका खाध्यन्नलगायत सामाग्री निकाल्न उनीहरू घरमा पसेका थिए। सामाग्री निकाल्ने क्रममा एक गर्भवती  महिलासमेत घाइते भएकी छिन्। हमन माया तामाङ घाइते भएको र उनको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

आजै पाँचथरमा पनि दुई जनाको मृत्यु भएको छ। पाँचथर फिदिम नगरपालिका ४ चिसापानीस्थित आदिवासी जनजाति महासंघको सामुदायिक भवन भत्किँदा दुई जनाको मृत्यु भएको हो। तल्लो तला पक्की रहेको र माथिल्लो तलामा टिनको छानो लगाएर उक्त भन बनाइएको थियो।  

माथिल्लो तलामा ५ जना सुतिरहेका बेला पहिरो खस्दा हेरालो कर्मचारी फुर्लु  सेर्पाकोमा पाहुना आएका फिदिम नपा १२ बस्ने २५ बर्सकी सपना सेर्पा र उनकी छोरी डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ। फुर्लुसहित अन्य २ जना भने भागेर बाचेको प्रहरीले जनाएको छ। 

पाँचथरकै फुरुङगा हाइड्रो पावरमा काम गर्ने ५० वर्षका गोपी विश्वकर्माको पनि निधन भएको छ। कृष्ण दास, कमला दास, धनकुमार तुम्बापो,सरस्वता  तुम्बापो बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरू राजकुमार नेम्मबाङको घरमा डेरा गरेर बस्ने गरेका थिए। 

यस्तै, मोरङ रतुवा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। देवीप्रसाद राजवंशी बेपत्ता भएको प्रहरीले जनाएको छ। इलामको सेते खोलाले बगाउँदा मैतबहादुर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै, झापामा ३ जना बेपत्ता भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।