नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले उपभोक्ता मूल्य स्थिरताको विषयमा राष्ट्र बैङ्क आफैले नीति निर्माण गर्छ भन्ने गुनासो आउने गरेको बताएका छन्। 
बुधवार उपभोक्ता मूल्य सुचाङ्क सार्वजनिक सम्बन्धमा छलफल एवं पत्रकार सम्मेलनमा उनले केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको सर्वेक्षणको सर्वेलाई नै आधारशिला बनाएर ८०/८१ लाई आधार वर्षको रुपमा तय गरेर राष्ट्र बैङ्क अगाडि बढी रहेको बताए। 
उनले भने,‘राष्ट्र बैंकलाई धेरै आरोप लाग्ने गरेको छ मूल्य स्थिरताको विषयमा राष्ट्र बैङ्क आफैले नीति बनाउँछ, आफै लक्ष्य राख्छ, आफै मुद्रा सङ्कलन गर्छ, आफै वस्तु निर्धारण गर्छ, आफै सर्वे गर्छ भन्ने, तर अहिले त्यो सबै कार्य केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको जुन सर्वे छ त्यो सर्वेलाई टेकेर काम गरिरहेका छौ। त्यही सर्वेलाई टेकेर यो आधारशिला बनाएर यो वर्ष ८०/८१ लाई आधार वर्षको रुपमा तय गरेर राष्ट्र बैङ्क अगाडि बढी रहेको छ।’ 
उनले मूल्य सुचाङ्क सार्वजनिकमा किन ढिलाइ भन्ने प्रश्न धेरैले गरेको भन्दै रफ तथ्याङ्क सार्वजनिक गर्दा विश्वासनियतामाथि नै प्रश्न उठ्ने भएकाले समय लगाएर भएपनि सही तथ्याङ्क सार्वजनिक गरेको बताएका हुन्। 
उनले भने,‘धेरै ले प्रश्न गरिरहनु भएको थियो। किन एक महिना मूल्य सुचाङ्क सार्वजनिक गर्न ढिलो गर्नुभयो भनेर। एक महिना ढिलो नगरी हाम्रो तथ्याङ्क नै आउँदैन। रफ तथ्याङ्क हामीले सार्वजनिक गर्न थाल्यौँ भने त त्यो फेरि विश्वसनीयता हुँदैन। त्यसले थप हाम्रो विश्वासनियतामा नै प्रश्न उठ्छ। त्यसैले अलिकति ढिलो गरेर भएपनि सही तथ्याङ्क नै ल्याउनुपर्छ।’