लक्ष्मण पन्थी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको सदस्य सचिव हुन्। उनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यको जिम्मेवारीमा पनि छन्। अर्घाखाँचीको छत्रदेवमा जन्मिएका उनी नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य (एमए) हासिल गरी हाल विद्यावारिधि गरिरहेका छन्। उनी हिन्दु संस्कार, संस्कृति, ज्योतिष शास्त्र एवम् वास्तुकलाको पनि गहिरो अध्ययन गरिरहेका छन्। 
सनातन हिन्दुहरुका लागि साउन, भदौ, असोजमा किन महत्त्वपूर्ण छन् ? किन यी महिनामा चाडपर्वहरू धेरै पर्ने गर्छन् ?
हिन्दु संस्कार र संस्कृतिमा विशेष गरी साउनदेखि मङ्सिरसम्म एकदमै ठुला चाडहरू हिन्दु धर्मालम्वीहरुले मनाउने गर्छन्। किनकि यो वैज्ञानिक धर्म हो। सुरुमा नाग पञ्चमी हुन्छ, जहाँ नागलाई शिवजीको गहनाको रूपमा पुजिन्छ। नागलाई पूजा गर्नुको विश्वसनीय वैज्ञानिक आधारहरू छन्। नागलाई मात्र होइन चराहरूलाई पूजा गर्छौँ। कागलाई पूजा गर्छौँ। गाइलाई सम्पूर्ण चराचुरुङ्गी जगत् सबैलाई पूजा गर्दछौँ। त्यति मात्र होइन प्रकृतिलाई पनि पूजा गर्छौ।
अब पर्वको कुरा गर्दा नाग पञ्चमीबाट सुरु भयो। जनै पूर्णिमा, मातृ सम्मान दिवस, पितृ सम्मान दिवस र लगतै अहिले सोह्र श्राद्ध सुरु हुन्छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्ममा १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह श्राद्ध भनिएको हो। सोह्र श्राद्ध भनेको पितृ कार्य गर्ने हो।
त्यसपछि दुर्गा पक्ष सुरु हुन्छ, दुर्गा पूजा गरिन्छ। क्रमशः लक्ष्मी पूजा, भाइ पूजा गरिन्छ । मह भनेर आफ्नो शरीरलाई आफैँ पूजा गरिन्छ। त्यसैले हिन्दु धर्म एकदमै वैज्ञानिक छ। सबैलाई समान गर्दछ। यो जगत् वा ब्रह्माण्ड रहनको लागि सबैको उत्तिकै महत्त्वपूर्ण योगदान छ। त्यसैले, सबैको पूजा गर्ने प्रचलन हाम्रो हिन्दु संस्कारमा छ। 
धर्म शास्त्रहरू तिथि प्रधान हुन्छन्। त्यसैले कुन तिथिमा के गर्ने भन्ने हुन्छ। आश्विन कृष्ण पक्षलाई पितृ पक्ष मानिन्छ। यो समयमा पितृ पक्षलाई पूजा गरिन्छ। यसपछि लगतै आउने आश्विन शुक्ल पक्षमा चाहिँ देवीको पूजा गरिन्छ। शक्तिको पूजा गरिन्छ। त्यसमा विभिन्न देवीका रूपहरू महाकाली, महालक्ष्मी ,महासरस्वतीले जय विजया गरेको दिनलाई पूजा गरिन्छ। 
कार्तिकको कृष्ण पक्षमा लक्ष्मी पूजा गरिन्छ। महाकाली, महालक्ष्मीको पूजा गरिन्छ। हामीलाई जति नै पितृसत्तात्मक भनेतापनि मातृ शक्तिलाई धेरै महत्वको रूपमा अगाडि बढाएको पाइन्छ। 
त्यसपछि लगतै कार्तिक शुक्ल पक्ष सुरु हुँदाहुँदै द्वितीया आउँछ। त्यो भनेको भाइटिकाको पूजा हुन्छ। त्यसैगरी, दिदीबहिनीलाई पूजा गरिन्छ। अहिले रक्षा बन्धनमा राखी भन्ने चलन भारतबाट आएको हो। त्यसमा बहिनीले दाजुभाइलाई बाँध्ने चलन हो। खासगरी रक्षा बन्धनको दिन गर्ने भनेको ऋषि तर्पण, ऋषिहरूको नाममा तर्पण दिने, पूजा गर्ने र रक्षा बन्धन धारण गर्ने हो। आफ्नो सुरक्षाको लागि रक्षाकवजको रूपमा रक्षा बन्धनले काम गर्छ भन्ने मान्यता छ। सोही अनुसार पूजा गरिन्छ, त्यही भएर पनि हाम्रा चाडपर्वहरू वैज्ञानिक छन्।
सनातन धर्मशास्त्रले श्राद्धलाई किन महत्त्व दिन्छ ? यसका प्रकारहरू पनि हुन्छन् ? 
चाडवाडहरु सुरु भएसँगै देवकार्यहरु सुरु भएका हुन्। पूजा गर्नुभन्दा अगाडि पितृ कार्यहरूलाई पूजा गर्नुपर्छ भन्ने चलन छ। हिन्दु संस्कार अनुसार कसैको घरमा ठुलो हवन पूजा लगाउँदा पहिला भगवानलाई पूजा गर्नुभन्दा अगाडि पितृहरुलाई पूजा गरिन्छ र श्राद्ध गरिन्छ। पितृलाई खुसी नबनाएसम्म विभिन्न देवीदेवताका कर्महरु पूरा हुँदैन भनिन्छ। जति पनि चाडपर्वमा भगवानहरुको पूजा गरिन्छ, त्यो भन्दा पहिला पितृहरूको पनि चाड मान्नुपर्छ। पितृहरूको बास चन्द्रमाको शिरमा हुन्छ भनिन्छ। प्रत्येक चन्द्रमासको जुन एक महिना हुन्छ त्यो चन्द्रमास पितृको एक दिन हुन्छ र एक वर्ष १२ दिन हुन्छ। र १२ दिन सकिने बित्तिकै एउटा चन्द्रमासको समय सकिन्छ। त्यसपछि कृष्ण पक्ष सुरु हुन्छ। जतिपनि पितृ कार्य गरिन्छ, कृष्ण पक्षमा गरिन्छ। बितेर गएका पितृहरुले आश गर्ने गर्छन्। पितृ पक्षको समयमा आफ्ना सन्तानहरुले कसरी मानिराखेको छन्, कत्तिको श्राद्ध गरिराखेका छन् भन्ने हेरिराखेको हुन्छन्। पितृहरुले घरमा कहिले आउँछन् भन्दा जुन दिन बितेर गएको तिथि परेको हुन्छ त्यो तिथिमा उहाँहरू आउनुहुन्छ। श्रद्धाको प्रकारमा यसलाई महालयको श्राद्ध भनेर मानिन्छ। १५ दिनको जुन पितृ पक्ष समय छ यसलाई महालय श्राद्ध भनेर चिनिन्छ। श्राद्धको अर्थ श्रद्धा पनि हो। पितृलाई मान्ने चलन अथवा बितेर गएकाहरुको लागि मानिने र सम्मान गर्ने दिन भनेको श्रद्धा गर्ने दिनलाई भनिन्छ। पितृको तिथिको दिनमा नै गर्नुपर्छ। त्यो तिथिमा गर्न मिलेन भने एकादशीमा गर्न सकिन्छ र गर्नुपर्छ। पितृले हेर्छन् र देवताले दिन्छन्। पितृ खुसी भएनन् भने हामीले जीवनमा नै काम सफलतापूर्वक गर्न सक्दैनौ। 
महालय श्राद्धमा सकेसम्म हजुरबुबाको तिथिमा गर्ने, त्यसपछि बुबाको तिथिमा गर्ने चलन छ। तर खास बुबाको तिथिमा नै गर्दा पितृहरुले तर्पण पाउँछन् भन्ने चलन छ। पितृहरुलाई खुसी बनाउनको लागि बचनहरु एकदमै मिलाउनुपर्ने हुन्छ।