नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन्। 
सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन्।
यसअघि महासङ्घका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए। उनले राजीनामाको बोधार्थ महासङ्घका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई  दिएका छन्।
उनले महासङ्घको विधि विधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्यक्तिलाई सदस्यता दिएको असन्तुष्ट हुँदै राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन्। 
कार्यवाहक अध्यक्ष विष्टले बिहीबार महासङ्घको केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए। 
उनको पत्रपछि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम अनिश्चित कालका लागि स्थगित गरिएको जनाएको छ।