चलचित्र विकास बोर्डले फिल्म ‘बलिदान’का ५ जना ,७ जना अन्य फिल्मकर्मीसहित १२ जनालाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार–२०८१’ प्रदान गरेको छ।
शुक्रवार संविधान जारी भएको नौ वर्ष पूरा भएको अवसरमा बोर्डले कार्यक्रमको आयोजना गरी मुलुकको सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान दिएबापत फिल्म ‘बलिदान’का ५ जना सर्जक, ७ जना अन्य फिल्मकर्मीसहित १२ जनालाई पुरस्कार प्रदान गरेको हो। 
पुरस्कृत हुने फिल्म ‘बलिदान’का स्रष्टाहरूमा निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, अभिनेता हरिवंश आचार्य, सङ्गीतकार श्याम तमोट र गायिका लोचन भट्टराई रहेका छन् भने ,अन्य फिल्मकर्मीमा अभिनेता रमेश रञ्जन झा, अभिनेत्री कविता आले, अभिनेता देशभक्त खनाल, अभिनेता ऋद्धिचरण श्रेष्ठ, अभिनेता माओत्से गुरुङ, सङ्गीतकार विकास चौधरी र अभिनेत्री प्रेमा अधिकारी गैरे छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्ड अध्यक्ष दिनेश डिसीले जनही २५ हजार नगद र ताम्रपत्रसहित सम्मान तथा पुरस्कार प्रदान गरे।