सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका छन्। 
संविधान दिवसको उपलक्ष्यमा आयोजित सांस्कृतिक पुरस्कार २०८१ कार्यक्रममा बोल्दै उनले, राजनीति आफैँमा फोहोरी खेल नभएको तर राजनीतिलाई गलत रुपमा प्रयोग गर्ने गरिएको बताए। उनले राजनीतिमा अपराधिक क्रियाकलापको अन्त्य हुनुपर्नेका जोड दिए।
उनले भने,‘राजनीति चाहिँ अहिले फोहोरी हुँदै गएको छ। पहिला पनि राजनीति भनेको चाहिँ फोहोर खेल हो भनेर शिक्षकहरुले विद्यार्थीहरूलाई सिकाइरहेको पाइन्थ्यो। त्यो गलत कुरा थियो। राजनीति फोहोरी खेल होइन। तर राजनीतिमा जुन किसिमको अपराधिक क्रियाकलाप र अपराध राजनीतिकरण भइरहेको छ त्यो अन्त्य हुनुपर्छ।’
उनले संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको र संशोधनका गुञ्जायस खोज्नुपर्ने धारणा राखे। अहिलेसम्म धेरै पटक संशोधन गरेकैले संविधानहरु जीवित रहेको बताउँदै समयअनुकुल परिवर्तन गरे मात्र संविधानलाई जीवित राख्न सकिने बताए। धेरै पटक संशोधन गरेको संविधानहरु नै जीवित रहेको उनको भनाइ छ।
उनले भने,‘संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको गुञ्जायस खोजिराख्नुपर्छ। संशोधनको गुञ्जायस खोजिराख्नुपर्छ। धेरै पटक संशोधन गरेको संविधानहरु नै जीवित छन् अहिलेसम्म। ०४६ सालमा बनेको संविधान ७२ सालमा किन भत्कियो भन्दा समयअनुकुल परिवर्तन गर्दा नै हो।’
उनले आज देशका समस्या कहाँ छ भनेर पहिचान गर्न आवश्यक रहेको भएतापनि समस्याको पहिचानमा नै अन्यौलता रहेको बताए।