धारा नेपालगञ्ज म्याराथनको १०औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ।

प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड असोज ३ गते राति आयोजना गरेर ‘दशौंमा दश इभेन्ट’ सुरु हुनेछ।

त्यसैगरी, रनिङ संस्कृति बढावा दिनका लागि असोज ५ गते शनिवारदेखि हरेक शनिवार वर्षभरि सञ्चालन हुनेगरी ‘साप्ताहिक रन’ कार्यक्रम हुँदैछ। 

यसका लागि रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई प्रमुख जिम्मेवारी दिइएको छ। बाँके जिल्ला एथ्लेटिक्स संघले यसमा साझेदारी गर्नेछ। 

दशौं धारा नेपालगन्ज म्याराथनलाई लक्षित गरी स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन गरिनेछ। ओलम्पिकको विश्वव्यापी मुल्यमान्यता, शान्ति र एकताका लागि खेलकुदको भुमिकाका बारेमा विद्यार्थीहरुसँग अन्तरक्रिया गरी यो कार्यक्रम अघि बढाइनेछ।

यसका लागि युथ ओलम्पिक एम्बेस्डर चाहना शाहलाई संयोजनको जिम्मेवारी दिइएको छ। चाहनालाई नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजरमा नियुक्त गरिएको छ।

उनले समग्र म्याराथनको अपरेसन टिममा रहेर जिम्मेवारी निर्वाह गर्नेछिन्। ट्रायथोलनकी अन्तर्राष्ट्रिय निर्णायक चाहनाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ग्रीसको ओलम्पियाडमा हरेक बर्ष सञ्चालन गर्ने युथ एम्बेस्डर कोर्ष २०२२ गरिसकेकी छिन्। साथै हाङझाव एशियाडमा निर्णायकको भुमिका निर्वाह गरेकी थिइन्।

त्यस्तै, गौघाट ग्रीन रन, मंसिर ५ गते दीप प्रज्वलन, म्याराथन एक्स्पो, फोटो प्रदर्शनी, नेपालगन्ज कनक्लेव, दशक रत्न सम्मान हुँदै मंसिर २२ गते धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण गरिने नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन्।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत राष्ट्रिय खेलकुद् परेकाले तीन मंसिर २२ गते शनिवार हुन लागेको हो। 

दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमायात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगन्जको बीपीचोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ। 

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दैआएको छ।