पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धुकै मुद्दा उठाउँदा सत्ताबाट हट्नु परेको बताएका छन्। 
झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रचण्डले त्यस्तो बताएका हुन्। 
सर्वोच्च अदालतले गिरीबन्धुको स्वामित्वमा रहेको ३४३ बिगाहा जमिनको सट्टा पट्टा दिने निर्णय उल्टाएको छ।
सो मुद्दाको पुर्णपाठमा २०६१ सालमा सट्टा पट्टा दिने निर्णय गरिएको सुदर्शन गिरीको स्वामित्वको ५१ बिगाहा जमिनलाई पनि गिरीबन्धुकै जमिनका रूपमा गणना गर्नु भन्ने उल्लेख छ। 
अदालतको सो आदेशपछि तत्कालीन अवस्थामा किनबेच भएको सो जमिनको कारोबारमा मालपोत कार्यालयले रोक लगाएको छ। 
जमिनको कारोबारमा रोक लगाएपछि त्यहाँ रहेका ५ सयभन्दा  बढी घरधुरी अन्योलमा परेका छन्।
उनीहरूले मन्त्री स्तरबाट निर्णय भएर लामो समय देखि कारोबार भइरहेको सो जमिनको विषयमा उत्पन्न अन्यौलता अन्त्य गर्न माग गर्दै प्रचण्डको ध्यानाकर्षण गराएका हुन्। 
ज्ञापन पत्र बुझ्दै प्रचण्डले बिर्तामोड बसपार्कको जमिनमा उत्पन्न समस्याको बारेमा जानकार रहेको बताएका छन्। उनले यिनै मुद्दा उठाउँदा सत्ताबाट हट्नुपरेको भन्दै समस्या समाधानका लागि सकारात्मक रहेको धारणा राखेका थिए।