काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नाबालिग पिट्नेलाई जोगाएको आरोप लगाएका छन्। शनिवार राति सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो आरोप लगाएका हुन्।

बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि बाल श्रम दुरुपयोगको आरोप लगाइरहेका छन्। बाल श्रम दुरुपयोग गर्ने सांसदलाई प्रधानमन्त्री ओलीले जोगाएको उनको भनाइ छ।

यसैकारण, आफूले बाल दिवसको शुभकामना पनि दिन नसकेको बालनेको भनाइ छ। शनिवार बाल दिवस परेको थियो। 

पीडित बालिकाहरूले प्रधानमन्त्री (खड्गप्रसाद ओली) का कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिनँ, सो शुभकामना स्वयं प्रमज्यूलाई नै टक्रयाउन चाहन्छु, ग्रहण गर्नुहोला?’ उनले फेसबूकमा लेखेका छन्।

बालेनले अर्को फेसबुकमा  ‘नाबालिग पिट्नेलाई मेरो प्रधानमन्त्रीले जोगाउँछ’ लेखेर प्रोफाइल पिक्चर नै परिवर्तन गरेका छन्।

बालेनले केही समयअघिदेखि सांसद शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरिरहेका छन्। यस विषयलाई लिएर उनले प्रधानमन्त्री ओलीविरुद्ध बारम्बार कटाक्ष गरिरहेका छन्।