मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित जुवा खेलेको आरोपमा ९ जना पक्राउ परेका छन्। 

ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पूर्वअध्यक्ष माझीसहित ९ जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ। 

उनीहरूको साथबाट १८ लाख ५१ हजार ५०० रुपैयाँ बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। गत निर्वाचनमा भने उनी पराजित भएका थिए। 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिवार राति उनीहरूलाई पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा जुवाडेहरूलाई पक्राउ गरिएको एसपी कार्कीले बताए। 

पक्राउ पर्नेहरूमा सुनसरीको दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा-१ का ५० वर्षीय जनककुमार माझी, महोत्तरीका ४५ वर्षीय महेश साह, ग्रामथान-४ का अहिलाल माझी, धरान-१५ का युवक राई, दमक-१० का ऋतुवर्ण नेम्वाङ, लेटाङ-९ का लोकनाथ सापकोटा र सुन्दरहरैँचा-३ का प्रताप राई रहेका छन्।

‘सुनसरी, झापा र मोरङका विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको हामीले सूचना पाएका थियौँ। त्यसैका आधारमा आधारमा छापा हानेर जुवाडेलाई नियन्त्रणमा लिइएको हो,’ एसपी  कार्कीले भने। पक्राउ परेकाहरूमाथि अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार ग्रामथान ४ मोतीपुर क्षेत्रमा जुवाको अखडा बनाएर ‘नामुद जुवाडे’हरू जुवा खेल्ने गरेका छन्। ‘यहाँ कोशी प्रदेशका विभिन्न जिल्ला र मधेश प्रदेशबाट पनि जुवाडेहरू ग्रामथानमा जुवा खेल्न आउने गरेका छन्,’ एसपी कार्कीले भने, ‘खोला छेउछाउका घरहरूमा व्यवस्थित रूपमा जुवा खेल्ने अखडा बनाएको पाइएको छ।’

चाडपर्व नजिकिएसँगै जुवाजन्य गतिविधिहरू हुने भएकोले प्रहरीले कडा निगरानी गरेको एसपी कार्कीले बताए। पक्राउ परेका ‘जुवाडे’हरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ। उनीहरूमाथि आइतवार जुवा ऐनअन्तर्गत मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरू गर्ने तयारी प्रहरीले गरेको छ।