काठमाडौँको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो। धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ।

२०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ। बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ । 

बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहरामा भित्री संरचना २२ तलाको छ। दुईवटा लिफ्टबाट धरहरा चढ्न सकिने व्यवस्था मिलाइएको छ ।

भूकम्पले भत्किएको पुरानो धरहराको भग्नावशेष खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ ।

धरहरा टावरमुनि तीन तले पार्किङ बनाइएको छ । धरहरा परिसरमा प्रशासनिक भवन र सङ्ग्रहालय लगायतका संरचना पनि बन्दैछन् । धरहराको उद्घाटन भने तीन वर्षअघि नै भइसकेको हो ।