मोरङको मिक्लाजुङ गाउँपालिका–६ सुन्दरी चोकस्थित जंगलमा स्कुटर दुर्घटना हुँदा बिहीबार दिउँसो चालकको घटनास्थलमै मृत्यु भएको छ। स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार व्यक्ति घाइते भएका छन्।

किसान चोकबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ४०६४ नम्बरको स्कुटर बिहीबार दिउँसो ४ बजेतिर दुर्घटनामा परेर स्कुटर चालक झापाको मेचीनगर नगरपालिका–१ का अन्दाजी ५५ वर्षीय कृष्ण थुलुङको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

दुर्घटनामा स्कुटरको पछाडि सवार मिक्लाजुङ गाउँपालिका–६ बाँझोखेका अन्दाजी ५० वर्षीय सुरज राई गम्भीर घाइते भएका छन्। राईको उपचार जारी रहेको प्रहरीले जनाएको छ। स्कुटर आफैँ अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।