नेपाली कांग्रेसले संस्थागत क्षमतामा उत्कृष्ट हुने २१ स्थानीय तहलाई सम्मान गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवा एवम पार्टीका पदाधिकारीहरुले सम्मान गरेका हुन्।

आर्थिक वर्ष २०७९–८० मा स्थानीय तह संस्थागत क्षमतामा उत्कृष्ट हुने चार गाउँपालिका र तीन नगरपालिका गरेर सात स्थानीय तहलाई सम्मान गरेको हो। 

यस्तै, २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा चार गाउँपालिका र चार नगरपालिका गरेर आठवटा स्थानीय तहलाई सम्मान गरिएको हो।

यस्तै महालेखापरीक्षकको आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन अनुसार कम बेरुजु हुने तीन गाउँपालिका र तीन नगरपालिका गरेर ६ स्थानीय तहलाई पनि सम्मान गरेको छ।

सम्मान कार्यक्रमलाई नै सम्बोधन गर्दै महामन्त्री गगन थापाले जनतासँग गरेका बाचालाई स्थानीय सरकारले इमान्दारका साथ पूरा गनुपर्ने बताएका छन्। उनले बाचाहरु अनुरुप काम गर्न सुझाव दिए। 

उनले  भने, ‘हामीले ३३२ वटा पालिकामा नेतृत्व प्राप्त गयौँ। स्थानीय सरकारमा सबैभन्दा ठूलो पार्टी हौँ। केही बाचाहरु गरेर स्थानीय सरकारको जिम्मेवारी प्राप्त गरेका हौं, संकल्प पत्रमा ती कुराहरु स्पष्टसँग उल्लेख गरेका छौँ। त्यस्ता बाचा अनुरुप काम गर्नु परिणाम आउँछ आउँदैन त्यो सबै हाम्रो नियन्त्रणमा छैन तर त्यसका निम्ती प्रयत्न गर्नु निर्वाचित हुने सबैको कर्तव्य र धर्म हो।’

साथै उनले चोक चौतारीमा बसेर यो खराब उ खराब भनेर आरोप लगाउन नहुने बताए। उनले आफ्नो पार्टीका प्रतिनिधिहरुले कस्तो काम गरेका छन् त्यो सबै अनुगमन र निगरानीमा राखिनुपर्ने बताए।