मोरङको लेटाङमा बाँसघारीमा बेहोस अवस्थामा फेला परेकी महिलाको बिहीबार दिउँसो मृत्यु भएको छ।

लेटाङ नगरपालिका–३ त्रिशूली चोककी ४५ वर्षीया इन्द्रकमला राईको मृत्यु भएको हो। राई घरदेखि ५ सय मिटरजति पश्चिममा रहेको बाँस झ्याङमा दिउँसो १२ बजेतिर अचेत अवस्थामा लडिरहेकी देखेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। 

उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। इन्द्रकमला खेतमा काम गर्नका लागि भनेर घरबाट गएको जानकारी परिवारले प्रहरीलाई दिएको छ।

खेतमै रहेको बाँसघारीमा बेहोस अवस्थामा भेटिएकी महिलाको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र लेटाङमै रहेको र घटनाको अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए।