नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पो सुरु भएको छ।

विराटनगर नजिकैको कृषि थोक बजार परिसरमा आज बिहीबारदेखि चारदिने एक्स्पो सुरु भएको हो। संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारी र कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक्स्पोको उद्घाटन गरेका हुन्।

मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँमा ल्याई कृषि उत्पादन बढाउनका साथै यान्त्रीकरण गर्न एक्स्पो काशेढुंगा सावित हुने बताए। उनले भने “लगानीको सुनिश्चिता र कृषि आधुनिकीकरणका लागि यस्ता अवसर सहयोगी हुन्छन्। प्रदेश सरकारले कोसी प्रदेशलाई कृषि हबको रूपमा विकास गर्नसमेत कार्ययोजना अघि बढाएको छ।”

कार्कीले कोसी प्रदेशमा भौगोलिक अवस्थितिअनुसार कृषि क्षेत्रको विकासका लागि सरकारले काम गरिरहेको बताए। किसानका लागि बैंक ब्याजमा अनुदान, यान्त्रीकरणमा सहयोग र कृषि उद्योग सञ्चालनमा सहयोग गरिरहेको सुनाए।

संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको व्यावसायीकरणका लागि रणनीतिक महत्त्वका साथ अघि बढ्नुपर्ने बताए। “सरकारले लगानी दशक र कृषि दशकलाई एकसाथ अघि बढाई निजी क्षेत्रलाई कृषि उद्यममा जोड्न काम गरिहेको छ,”उनले भने, “कृषिमा निजी क्षेत्रको उचित लगानी हुन नसक्दा आधुनिक ढंगको कृषि प्रणालीको विकास हुन सकेको छैन। सरकार निजीक्षेत्रसँग मिलेर काम गर्न तयार छ।”

उनले सातवटै प्रदेश र सबै स्थानीय तहमा लगानी क्षेत्र पहिचान गरी बजेट पठाउने काम भएको बताए। दुग्धजन्य पदार्थको उत्पादन तथा बजारीकरणका निम्ति विविधिकरण गर्न आवश्य रहेको सुनाए।

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै किसान र उद्यमीलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसाथ एक्सपो आयोजना गरिएको बताए।

आइतबारसम्म चल्ने कृषि एक्स्पोमा नेपाल र भारतका गरी १३० वटा स्टल रहेका छन्। जुम्लाको मार्सी चामलदेखि विभिन्न प्रकारको दाल र स्याउ, झापाको गाउँले अचार र नमुना अचार, पाँचथरको काक्रा र किबीको जुस लगायतका कृषि सामग्री बिक्री भइरहेका छन्।

नेपाल र भारतका १५ कृषि विज्ञ कृषि एक्स्पोमा सहभागिता जनाएका छन्। उनीहरू कृषि उत्पादनका बारेमा किसानसँग संवाद र छलफल गर्नेछन्। नेपाल उद्योग वाणिज्य कोसीले हरेक वर्ष कृषि एक्स्पोलाई निरन्तरता दिने घोषणा गरेको छ।