नेपाली ख्रीष्टियान नागरिक संघले समाज एवं ख्रीष्टियान समुदायको उथानका लागि विभिन्न तवरले योगदान पुर्याएका तीन जना व्यक्तिलाई सम्मान गरेको छ। संघको ९वौं वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रमकाबीच तीन जनालाई सम्मान पत्रसहित दौसल्ला ओढाएर सम्मान गरिएको हो।

सम्मानित हुनेहरुमा असहाय तथा अनाथ बालबालिकाहरुको साहारा बनिरहेको लड्स होम नेपालका संस्थापक कुशल घले, नेपाली ख्रीष्टियान नागरिक संघका प्रवक्ता एवं संस्थापक अध्यक्ष टीकाराम आचार्य र संघका संरक्षण समिति प्रमुख तिमोथी सिन्हा रहेका छन्। घलेलाई समाजमा रहेको विभिन्न विसङ्गतिको विरुद्ध आवाज उठाउनका साथै मानव अधिकारको पक्षमा वकालत गर्दै पिछडिएका तथा असहाय व्यक्तिहरुलाई सहायता पुर्याएको भन्दै संघले सम्मान गरेको हो। त्यस्तै, आचार्य र सिन्हालाई नेपाली ख्रीष्टियानहरुको अधिकार प्राप्ति एवं उथानका लागि निरन्तर अग्रसर रहेको भन्दै सम्मान गरिएको हो।

बेलबारी नगरप्रमुख दिल प्रसाद राईको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा संघका अध्यक्ष हरि थापा मगरले प्रत्येक नागरिकले आफ्नो देशको हितको लागि काम गर्नुपर्ने र सकेको योगदान पुर्याउनु पर्ने बताए। समाजमा रहेका सबै भाषाभाषी, धर्म, संस्कृति मान्ने समुदाय, एकतामा रहेर बस्नुपर्ने र राष्ट्रको उन्नतिमा जोड दिनुपर्ने बताए। त्यस्तै, संघले नेपालमा रहेका नेपाली ख्रीष्टियानहरुको हक अधिकारको रक्षा, मानव अधिकारको पक्षमा वकालत गर्दै सभ्य र उन्नत समाज निर्माणमा योगदान पुर्याउदै आएको अध्यक्ष मगरले बताए।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि एवं विभिन्न अतिथिहरुले साधारणसभाको सफलताको शुभकामना दिदै नेपाली ख्रीष्टियानहरुको अधिकार प्राप्ति, त्यसको संरक्षणमा सदैव साथ दिने प्रतिवद्धता व्यक्त गरे। धार्मिक सहिष्णुता एवं समाजिक एकता नै आजको आवश्यकता रहेको उनिहरुको जोड थियो। बेलबारीमा आयोजित कार्यक्रममा नगर सरकारका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाली ख्रीष्टियान नागरिक संघका केन्द्र र विभिन्न जिल्ला पादाधिकारी तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो।