नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम पेशागत तथा वुद्धिजिवी विभागकी प्रमुख डा. डिला संग्रौलाले सबै जनतालाई समान अवसर प्रदान गरेमात्र बीपी कोइरालाको सपना साकार हुने बताएकी छन्।
मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले बीपीको सपना भनेको नेपाललाई समृद्ध बनाउने मात्र होइन हरेक वर्ग, समूदाय र सबै तहका नागरिकलाई सहजै रुपमा शिक्षा, औषधी, रोजगारी प्रदान गर्ने रहेको औँल्याइन।
‘वीपीले एउटा सपना देख्नु भएको थियो। त्यो सपना नेपाललाई समृद्ध बनाउने मात्र होइन हरेक वर्ग, समूदाय र सबै तहलाई शिक्षा, औषधी, रोजगारी प्रदान गर्ने थियो। यही नै आजको प्रजातन्त्रको बाटो हो। तर पनि आज लाखौ युवाहरु बेरोजगार छन्, विदेशिनु परेको छ। उनीहरुलाई नेपालमा भित्राएर रोजगारी दिने अवसर सिर्जना गर्नु नै आजको समाजवादको पाटो हो,’ उनले भनिन्।
महिला, आदिवासी जनजाति, अल्पसंख्यक वा सिमान्तकृत समूदायलाई समान अधिकार प्रदान गर्न सकेमात्र समाजवादको पालना हुने उनको धारणा थियो।
उनले अगाडि भनिन्, ‘हिजोआज महिलाहरुले अझै पनि समाजवादमा मेरो सम्मान हुनुपर्छ भनेर प्रश्न गर्नुपर्ने अवस्था छ। यस्तो हुनुहुँदैन। बीपीको सपना साकार पार्न हरेक जनताले समान अधिकार पाउनैपर्छ। यसका लागि हामी सबै लडनुपर्ने वा जुट्नुपर्ने अवस्था छ।’
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, महामन्त्री गगन थापालगायतले आजको सन्दर्भमा बीपी कोइरालाको विचारको समिक्षा गरेका थिए।