उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राम्रो काम गर्नको लागि कुनै पनि निकायलाई सीमा नतोकिएको बताएका छन्। 

मंगलबार ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले कर्मचारी सञ्चय कोषको अवस्था सहि ढङ्गले चलेको उल्लेख गर्दै कोषप्रति सञ्चयकर्ताले राखेको विश्वास कायम राख्न आग्रह गरे। 

उनले भने, ‘कर्मचारी सञ्चय कोषको अवस्था ठिकै ढंगले चलेको जानकारी पाए। राम्रो काम गर्नका लागि कुनै पनि सीमा तोकिएको छैन। तपाईहरुले कति धेरै काम गरेपछि चित्त बुझाउँनुहुन्छ। त्यसकारण राम्रो गर्नुभएको छ, राम्रो गर्नुस्। सञ्चयकर्ताहरुले यो संस्थामाथि भरोसा गरेको छ। संस्थाको सबैभन्दा ठुलो भरोसा भनेको पनि सञ्चयकर्ता हो। उनीहरुको विश्वास संस्थाप्रति सवल हुँदै जानेगरी संस्थाले काम गर्नुपर्छ।’

कोषमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै जनशक्तिको आवश्यक सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो। 

उनले भने, ‘संस्थाले नयाँ नयाँ प्रविधिमा जानुपर्छ। त्यस्तैगरी, कुन जनशक्ति कुन कामका लागि, कसरी परिचालन गर्नेबारेमा ध्यान दिनुहोला। धेरैभन्दा धेरै सञ्चयकर्ताहरुको बीचमा पुग्नको लागि यथेष्ट ठाउँ रहेकाले यसको सदुपयोग गर्न जरुरी छ। यससम्बन्धी कानून संशोसन, नियमावलीका कुरामा तपाईका आग्रहका आधारमा म कानून र नियमावली बनाएर पठाइदिन्छु भन्ने नठान्नुहोला। म सँग सयौँ कामहरु छन्। यसका लागि तपाई आफैंले फाइल बोकेर जान सक्नुपर्यो। छलफल र मिटिङ गर्नुपर्यो।’