काठमाडौँ महानगरपालिका–३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई शनिवार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ बस्ने ४० वर्षीय राम बिनय महरा र काठमाडौँ महानगरपालिका–३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम महरा रहेका छन्।
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ढुङ्गाको चेपभित्र गत बिहीबार ती महिलाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौँ महानगरपालिका–३ बसुन्धाराबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले ती महिलालाई ढुङ्गा प्रहार गरी हत्या गरेको खुल्न आएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दुई जना पक्राउ
यस्तै नेपालगञ्ज उपमहानगरपालिका–११ बिपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित दुई जनालाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय सुबोध क्षेत्री र बर्दिया मधुवन नगरपालिका–६ बस्ने २१ वर्षीया रिना शाही ठकुरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।