अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल-खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।
सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले बिहीबार र शुक्रबार टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो।
निर्माण व्यवसायीको लापर्वाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका आवतजावत गर्ने प्रमुख सडक जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न दुई दिन मालवाहक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ।
निर्माणाधीन धुलिखेल–खावा सडकखण्ड अत्यन्तै जीर्ण भएकाले सडक निर्माणमा सहयोग गर्न सबैसँग कार्यालयले अनुरोध गरेको हो। निर्माण सामग्रीको ढुवानी गर्ने टिपरका साथै चीनको खासा हुँदै नेपाल भित्रिने वस्तुको ढुवानी गर्ने कन्टेनर उक्त सडकमा सञ्चालन हुँदै आएका हुन्।