संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दैछ।
संघीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बेठक बस्न लागेको हो।
अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा दफावार छलफल हुनेछ। यसका लागि बिहान ११ बजे बैठक बस्नेछ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गर्ने कार्यसूची छ।
विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ। बैठक दिउँसो १ बजे बस्नेछ।
बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।