पाँचथरको हिलिहाङ गाउँपालिकामा कुदिरहेको मोटरसाइकलमा सडक माथिदेखि खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा ११ सलकपुरका २६ वर्षीय उद्धव ढकाल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
ढकाल कबेली ए जल विद्युत् आयोजनामा कार्यरत थिए। उनलाई बुधवार हिलिहाङ १ हाङदे भन्ने स्थानमा बिहान ९ः३० बजे मोटरसाइकल कुदाइरहेको अवस्थामा सडक माथिदेखि खसेको ढुङ्गाले लागेको थियो।
ढुङ्गाले लाग्दा घाइते भएका ढकाललाई उपचारका लागि पाँचथर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हेमन्त भण्डारीले बताए।
भण्डारीका अनुसार मोटर साइकलको पछाडि सवार काठमाण्डौँको मनोहरा ९ घर भएका तुलसीबहादुर खड्का पनि घाइते भएका थिए। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ढकालको शव पोस्टमार्टम गरी आफन्तलाई जिम्मा दिने प्रक्रिया सुरु गरेको पनि पाँचथर प्रहरीले जनाएको छ।