नेकपा एमालेको पोलिट्ब्युरो बैठक भोलि फेरि बस्ने भएको छ। 

मंगलबार पोलिट्ब्युरो बैठकमा महासचिवले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि बृहत छलफल गर्न भोलि ११ बजे फेरि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्। 

उनले भने,‘आज बैठकमा पार्टी महासचिवले निर्णायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो र कार्ययोजनामाथि बृहत छलफल गर्ने गरि भोलि ११ बजे बैठक आह्वान भएको छ।’

यसको साथै, उनले प्रस्तुत गरेको कार्ययोजनामा मूलत पार्टी सदस्यको नविकरण त्यसको विस्तार र अभिलेखिकरणको विषय प्रस्तुत गरिएको पनि बताए। 

उनले भने,‘आज प्रस्तुत गरेको कार्ययोजनामा मूलत पार्टी सदस्यको नविकरण त्यसको विस्तार र अभिलेखिकरणको विषय प्रस्तुत गरिएको छ। त्यसपछि विधि संवत तरिकाले पार्टी कमिटिहरुको परिचालन र पार्टी संगठनमा देखिएका अन्तर विरोधहरुको व्यवस्थापन गर्ने कुरा आएको छ।’ 

यस्तै, नयाँ पुस्तामा पार्टीको काम व्यवस्थित गर्ने कुरालाई पनि विशेष जोड दिएको पनि उनको भनाई छ। 

उनले भने, ‘नयाँ पुस्तामा पार्टीको काम व्यवस्थित गर्ने कुरालाई पनि विशेष जोड दिएको छ। जस्तो नयाँ पुस्तामा पार्टीको प्रभाव र नेतृत्वमा विकासका योजना कार्यान्वय गर्नका लागि प्रदेश कमिटीमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा तथा स्थानीय पार्टी कमिटी ३३ प्रतिशत युवा सहभागिताको नीतिलाई प्रभावकारी तरिकाले लागू गर्ने गरि प्रस्ताव गरिएको छ। प्रत्येक गाँउपालिकाले ५०, नगरपालिकाले एक सय, उपनगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा परिचालन गरेर पार्टीका काममा जोड्ने कुरालाई जोड दिइएको छ।’ 

उनले स्थायी रुपमा पार्टी सञ्चालन र अभियानका रुपमा पार्टी प्रशिक्षणहरु सञ्चालन गर्ने कुरा पनि विशेष रुपमा उठेको बताए।