विश्व विराट ज्ञान आश्रमले श्रीमद्भागवत महापुराण महायज्ञ सञ्चालन गर्ने भएको छ। यही भदौ २४ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी महायज्ञ सञ्चालन हुने विश्व विराट ज्ञान आश्रमका सङ्गठन प्रमुख उद्धवकुमार घिमिरेले जानकारी दिए। 

बासुकीचौर गोरक्षपीठ भुवनेश्वरी मन्दिरको प्राङ्गणमा राष्ट्र राष्ट्रियता तथा बौद्धिक सनातन धर्मका निमित्त योगदानको अपेक्षासहित उक्त कार्यक्रम सञ्चालन गरिने प्रमुख घिमिरेले जनाए।

महायज्ञमा प्रमुख वाचकका रूपमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल रहनेछन् भने पण्डित विपिनकृष्ण भट्टराई उपवाचक रहने छन्।

एक हप्तासम्म सञ्चालन गरिने महायज्ञको पूर्वसन्ध्यामा भजनकिर्तनसहित नाचगान हुने घिमिरेले बताए। कार्यक्रममा श्रीमद्भागवतको पूर्वाङ्ग दीप प्रज्वलनसँगै महायज्ञको शुभारम्भ हुनेछ। महायज्ञको पहिलो दिन कलश यात्रा निकाल्ने र तीन किलोमिटर बजार परिक्रमा गरिने कार्यक्रम रहेको घिमिरेको भनाइ छ। 

शास्त्र अध्ययन र आध्यात्मिक अनुसन्धानका लागि महायज्ञ सञ्चालन गरिने र महायज्ञले समस्त लोककल्याणका लागि बिगुल फुक्ने एवं क्रमले भक्तजनहरूलाई प्रेरणा दिने उनले बताए।

उनले भने,‘पछिल्लो पुस्ता आफ्नो स्वधर्मको महत्व र औचित्यदेखि अज्ञात रहेका बेला सनातनको साश्वत फाइदाको ज्ञान गराउन र उनीहरूलाई कुलतबाट जोगाउन समेत विशाल कार्यक्रम आयोजना गरेका हौँ।’

बौद्धिक सनातन धर्मको संरक्षण र प्रचारप्रसार गर्ने हेतुले विराट गुरुकुल स्थापनार्थ महायज्ञले राम्रो सहयोग पुर्याउन प्रमुख घिमिरेले बताए।

सडकमा अलपत्र परेका एवं भोको पेट र उपचार बिना तड्पिरहेका बृद्ध आमाबुवा र अशक्तहरूलाई भगवानमा महत्वको आलोक झल्काउन र उनीहरूलाई बस्ने उचित वातावरण बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए।

राष्ट्रको असली मर्म उजागरका लागि विभिन्न कालखण्डमा महायज्ञ सञ्चालन हुँदै आएको घिमिरेले स्मरण गरे। विशेष अनुष्ठानका माध्यम मार्फत ज्ञानको उजागरका लागि पनि महायज्ञ सञ्चालन गर्न लागिएको उनको भनाइ छ। 

त्यसक्रममा नेपालको धार्मिक पर्यटन वृद्धिका साथै स्वधर्मको पहिचानका लागि महायज्ञको आयोजना गर्न लागिएको घिमिरेले जानकारी दिए।