महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युबारे सत्य तथ्य छानबिनका लागि उनको परिवारले माग गरेको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मृतक मुकेशका आफन्तहरुले घटनाको अवस्था हेर्दा दुर्घटनाबाट मृत्यु भएकोमा शङ्का रहेको बताएका छन्। 
गत भदौ ९ गते बिहान मुकेश बर्दिबास–१२ स्थित सडक छेउमा मृत फेला परेका थिए। मृतकका परिवारले बताएअनुसार उनी स्थानीय शिक्षक सन्दीप झाले बोलाएपछि बर्दिबास गएका थिए। मुकेश बर्दिबास पुगेपछि सन्दीप, दिलिकुमार मण्डल र दुई जना केटीहरुले राजु होटलमा खाजा खाएको पाइएको उनले बताए। 
राजु होटलका सञ्चालकको भनाइ उद्धृत गर्दै मृतक मुकेशका आफन्तले बताएअनुसार उनलाई सन्दीप, दिलीपलगायतले रातको ८ः३० बजे गौरीडाँडाको होटलमा जाने कर गरेका थिए। उनीहरुले कर गर्दा पनि मुकेश जान नमानेको बताइएको छ। 
मृतक मुकेशका दाजु सतनप्रसाद यादवले उक्त घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्नुपर्ने बताए। उनले घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटनामा मुकेशको मृत्यु भएको विश्वास गर्न नसकिने बताए। उनले स्थानीय प्रहरी प्रशासनले पनि यस घटनालाई गम्भीरतापूर्वक नलिएको बताए। 
‘उक्त घटना भएर पोस्टमार्टमका लागि शव काठमाडौँ लगिएपछि अर्को दिन सन्दीप झालाई प्रहरीले सामान्य सोधपुछ गरेर छोडेको छ। मुकेशसँग सम्पर्कमा रहेका व्यक्तिहरुको गम्भीरतापूर्वक छानबिन गरेमा सत्य तथ्य पत्ता लाग्छ। प्रहरी प्रशासन यसमा गम्भीर नभएको आशङ्का छ। यस्तो अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरोको यस घटनाप्रति ध्यानाकर्षण होस्,’उनले भने।  
महोत्तरीको साम्सी गाउँपालिका–१ का वडा अध्यक्ष एवं नेपाली काँग्रेसका नगर सभापति विपिन बिहारी यदुवीरले मृतक मुकेशको हत्यारा पत्ता लगाउन राज्यले आनाकानी गरेको बताए।
मृतक मुकेशको मृत्युबारे सत्य तथ्य पत्ता लगाउन दबाब दिन आफूहरुले महोत्तरी जिल्लाभरका वडाध्यक्षहरूको समिति नै बनाएको बताए। राजनीतिक इन्ट्रेस्ट र लेनदेनको विषयमा मुकेशको हत्या भएको उनले दाबी गरे। 
‘हाम्रो पनि विवेकले ठम्याएको छ– मुकेशको निर्ममतापूर्वक हत्या गरिएको छ। हामीले १५ गते शनिवार वडाअध्यक्षहरुको बैठक हुँदा यो हत्या नै हो भन्ने निष्कर्ष निकालेका छौँ,’उनले भने।