नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले यस बर्षको मौद्रिक नीतिको कार्यदिशा केही सहज र लचिलो रहेको बताएका छन्।
आइतबार काठमाडौँको भृकुटीमण्डपमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले नियमक विषय र मौद्रिक नीति केही हेरफेर गरेर मौद्रिक नीतिलाई लचिलो बनाउने कोशिस गरेको बताए। उनले राष्ट्र बैंकको यस्तो नीतिले बजारलाई केही हदसम्म चलाउन सकिन्छ भन्ने नमूना देखा परेको धारणा राखे।
उनले भने,‘यो बर्षको मौद्रिक नीतिको कार्यदिशा केही सहज र लचिलो बनायौँ। एकातिर नियमक विषय अर्कोतिर मौद्रिक नीति कै पनि नीतिमा केही हेरफेर गरेर मौद्रिक नीतिलाई लचिलो दिने कोशिस गरेका हौँ। केही नियाकम विषयमा हामीले गरेको कामबाट अहिले बजारमा केही चहलपहल देख्न सकिन्छ। यसबाट राष्ट्र बैंकको नीतिले बजारलाई केही हदसम्म चलाउन सकिन्छ भन्ने एउटा नमूना देखा पर्न गएको छ।’
उनले नेपालमा उत्पादन भएका इभीलाई प्रोत्साहन गर्न सकेमा विदेशिने युवाहरुलाई केहीहदसम्म देशमा राक्न सकिने बताए।
निर्माण व्यवसायीहरुको कालो सूची चेकबाट मात्रै कालोसूचिमा कर जाने व्यवस्थालाई केही नयाँ व्यवस्थापन र सम्बोधन गर्न लागेको उनले जानकारी दिए।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले सार्वजनिक यातायातका क्षेत्रमा भरपर्दो सुविधा दिन नसकिरहेको परिप्रेक्ष्यमा नाडाले गरिरहेको कामको बारेमा प्रशंसा गरे। उनले अटोमोबाइल क्षेत्रलाई अनुत्पादक क्षेत्रका रुपमा मात्र बुझ्दा समस्या आएको भएपनि नेपालका बैंकहरु भेकल क्षेत्रसँग साझेदारी गर्न इच्छुक रहेको बताए।
नाडाका अध्यक्ष करण चौधरीले अटो उद्योगमध्ये ८० प्रतिशतले बैंकसँग काम गर्दै करिब ५९ प्रतिशत कर राज्यलाई बुझाइरहेको बताए। अटो मोबाइल क्षेत्र बृहत रहेको उल्लेख गर्दै अध्यक्ष चौधरीले यो क्षेत्र नेपालको गौरव रहेको बताए।