जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ ।
महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठुलो वर्षाको सम्भावना छ ।
महाशाखाले आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने जनाएको छ ।
कोसी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन । चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा ठुलो वर्षा हुने महाशाखाको अनुमान छ ।
आगामी २४ घण्टामा ठुलो वर्षाको सम्भावना रहेका स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम रहेकाले सम्भावित क्षतिबाट बच्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।