नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा जबसम्म स्वच्छता हुँदैन तबसम्म जनताको निम्ति केही गर्न नसकिने बताएका छन् ।  
नेपाली काँग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा स्वच्छताको कमी भएको बताएका हुन् । 
उनले  भने,  ‘राजनीतिमा निष्ठा र  नैतिकताको विषय  छ । तर कता कता एउटा विषय छुटे जस्तो लाग्यो । निष्ठा, नैतिकता छ, एउटा अर्को पनि राखिदिएको भए हुन्थ्यो जस्तो लागिरहेको छ–त्यो हो ‘स्वच्छता’ । जबसम्म हामीमा स्वच्छ आचरण हुँदैन, स्वच्छता हुँदैन, निष्ठा हुँदैन, समर्पण हुँदैन र नैतिक आचरणले स्वच्छता पाउँदैन तबसम्म जनता र देशको निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौँ । ’
साथै उनले गर्नुपर्ने सबै काम खुला बहसबाट गर्नुपर्ने बताए । उनले मध्यरातमा दुई वटा नेताले हस्ताक्षर गरेर देशमा केही नहुने जिकिर गरे ।
उनले भने, ‘हामीले मुलुकमा जे–जे गर्नुछ त्यो खुला बहसबाट गर्नुपर्छ । सबैभन्दा पहिले आफूले गरेको गल्तीहरू हेर्नुपर्छ र बहसको प्रारम्भ गर्नुपर्छ । मध्यरातमा दुई वटा नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन । खुला बहसको कुरा गर्नुपर्छ । कहिल्यै बहसको कुरा नल्याउने तर मध्यरातमा गएर हस्ताक्षर गर्ने । मलाई यो कुरा गर्न मन थिएन तर यहाँ सन्दर्भ आयो ।’