हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)को गाडी दुर्घटनामा मृत्यु भएको छ। उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

कार्की सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका थिए। भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटना भएको उक्त गाडीमा सवार २१ जना घाइते भएका थिए।

घाइते सबैलाई भेरी अस्पताल लगिएको थियो। उपचारका क्रममा राती दुई बजेतिर ३९ वर्षीय कार्कीको निधन भएको प्रहरीले जनाएको छ।

उनी कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामा कार्कीका श्रीमान् हुन्। कार्की नेकपा माओवादी केन्द्रको प्रदेश समिति सचिवालय सदस्य हुन्।