गृहमन्त्री रमेश लेखकले मुलुकमा बनेको नयाँ समिकरणले सुशासन कायम गर्ने बताएका छन्।  आज (सोमबार) चौ पातो संस्थाले आयोजना गरेको प्रतिभा सम्मान कार्यक्रममा बोल्दै  उनले  दिगो  शान्ति  स्थापना गर्नका निमित्त यो सरकार गठन भएको बताएका हुन्।
उनले  भने, ‘मुलुकमा अहिले नयाँ समीकरण बनेको छ। नयाँ सरकार गठन भएको  एक महिना भएको छ। सरकार मुलुकमा सुशासन स्थापित गर्न, दिगो शान्ति स्थापित गराउनका निम्ति विकासका विषयहरूलाई द्रुत गतिमा अगाडि बढाउनका निम्ति र आर्थिक समृद्धितर्फ अगाडि बढ्नका लागि केही महत्त्वपूर्ण उद्देश्यहरू लिएर सरकार गठन भएको छ। ’
साथै  उनले देशमा महत्त्वपूर्ण एजेन्डाहरू ल्याउनकै लागि संसद्मा भएका ठुला दल मिलेको बताए। उनले लोकतन्त्र प्राप्त गर्नको लागि र सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्नको लागि पनि सबै दलहरू मिलेको इतिहास सबैले देखेको बताए।
उनले भने, ‘सामान्यता हेर्दाखेरि संसद्मा रहेका दुई ठुला दलहरू मिलेर सरकार बनाउने अभ्यास भनेको यो स्वभाविक देखिँदैन। कतिपय अवस्थामा स्वभाविक मानिँदैन तर संसद्मा भएका देशका सबैभन्दा ठुला दलहरू मिलेर सरकार बनाउने अभ्यास गर्‍यौ। विगतमा इतिहासले केही कुराहरूलाई स्थापित गरेको छ र  पुष्टिसमेत गरेको छ । जब मुलुकमा केही महत्त्वपूर्ण एजेन्डाहरू आउँछन्,मुलुकमा केही महत्त्वपूर्ण कार्यहरू सम्पादन गर्नुपर्ने हुन्छ। राष्ट्रका लागि केही साझा कार्यभारहरूलाई सम्पादित गर्नुपर्ने हुन्छ। त्यस्तो बेला देशका ठुला पार्टीहरू एक ठाउँमा उभिएर मुलुकका तमाम विषय सम्बोधन गरेको इतिहास छ। देशमा लोकतन्त्रको सवाल होस् या पछिल्लो सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्नको लागि होस् या राजाले मुलुकको लोकतन्त्र समाप्त गरेर देशमा अधिनायकवाद स्थापित गर्ने प्रयत्न गर्दा त्यसका विरुद्ध अन्तरिम संविधान स्थापित गर्नका लागि पनि सबै दल मिलेर देशका महत्त्वपूर्ण एजेन्डाहरूलाई सम्बोधन गरेको इतिहास छ।’