प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्ने काममा नलाग्ने दाबी गरेका छन्। 

आइतबार पार्टी केन्द्रीय कार्यलय च्यासलमा आयोजित एमालेनिकट नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकमा बोल्दै उनले सरकार भ्रष्टाचारका घटना खोजविन गर्ने र कारवाही गर्ने कामको लागि बनेको भन्दै सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्ने बताए।

उनले भने, ‘अहिलेको सरकार भ्रष्टचार नियन्त्रणका लागि बनेको हो। भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्ने र भ्रष्टाचार छोप्ने काम गर्नका लागि होइन। भ्रष्टाचार खोजविन र कारवाही गर्ने कामको लागि बनेको सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्छ। समयक्रममा व्यवहारमा देखिँदै जान्छ।’

प्रधानमन्त्री ओलीले न्याय र कानून सबैका लागि भएकाले अनुहार हेरेर कुनै पनि व्यवहार नगर्ने बताए। 

उनले थपे, ‘न्याय सबैको लागि र कानून सबैका लागि हो। अनुहार र मान्छेको मुख हेरेर कुनैपनि व्यवहार गरिँदैन। कानूनले व्यवहार गर्छ। हामी एउटा सुशासनयुक्त, समृद्ध, आधुनिक, शान्तिपूर्ण सुखी नेपाल र आनन्दको नेपाल बनाउन चाहन्छौँ।’

उनले जो भ्रष्ट छ उसले भ्रष्टाचार विरोधी नाराको नाटक गरेर जनता अल्मल्याउने काम गरेको बताए। 

उनले भने,‘ जो भ्रष्ट छ उसले भ्रष्टाचार विरोधी नाराको नाटक गरेर जनता अल्मल्याउँछ। जो भ्रष्टाचार विरोधी छ उसलाई आरोप लगाएर तथानाम बोलेर बद्नाम गर्न खोजिन्छ। यस्ता तत्वहरु छन्। तीनलाई देशको माया छैन।’