नायिका सुरक्षा पन्तले कलाकारिता क्षेत्रमा महिला भएकै कारण पुरुषको भन्दा कम पारिश्रमिक लिएर काम गर्नुपर्ने समस्या रहेको गुनासो गरेकी छिन्। 

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले महिला भएको कारण नै कलाकारिता क्षेत्रमा अब्बल र प्रतिभावान महिला कलाकारहरुले न्यून पारिश्रमिकमा काम गर्नुपरेको समस्या सुनाइन्। 

त्यस्तै उनी महिलाले निर्माता भएर काम गर्दैगर्दा विश्वासको वातावरण सृजना गर्न कठिन हुने पनि बताउँछिन्। 

‘महिला भएकै कारणले गर्दा भोग्नुपरेका समस्याहरु अनेकौँ छन्। पारिश्रमिकको कुरामा धेरै नै विवाद गरिरहनुपर्ने हुन्छ। निर्माताहरु महिला कलाकारलाई भन्दा पारिश्रमिक पुरुषहरुले बढी दिन रुचाउँछन्। महिला जति नै सक्षम र प्रतिभावान भएपनि पुरुषहरुले बढी नै पारिश्रमिक लिन्छन्,’ उनले अगाडि भनिन्,‘ पारिश्रमिक लिनेक्रममा हामीले धेरै नै सङ्घर्ष गर्नुपर्छ। झ्याप्प विश्वास गर्दैनन्। भोलि मैले कथा लेख्दै छु लगानी गरिदिनुहोस भन्दा पनि विश्वास नगर्न सक्छन्।’

फिल्म क्षेत्रमा वास्तवमा महिलाहरुलाई एकदमै समस्या हुने गरेको सुनाइन्। आफ्नो माहोल बनाउन वा अवस्था परिवर्तन गर्न छुट्टै मेहेनत गर्नुपर्ने उनको बुझाइछ।

विशेषगरी ग्रामिण क्षेत्रबाट आउने प्रतिभाहरुलाई अझबढी समस्या हुने गरेको उनले सुनाइन। आउने, बस्ने, धाउने खर्च व्यवस्थापन गर्न, प्रोजेक्टहरु हात पार्न र आफूभित्र रहेको प्रतिभा देखाउन धेरै संघर्ष गर्नुपर्ने उनको अनुभव छ।