वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रमा रहेका चुनौतीहरु सबै सरकार र वन मन्त्रालयले समाधान गर्ने बताएका छन्।   

शुक्रबार वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय विषयक संवाद नीति कार्यक्रममा बोल्दै उनले वन अतिक्रमण बढ्दै गएकाले समाधान गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘वन क्षेत्रमा केही मुख्य चुनौतीहरु छन्, तीमध्ये वन अतिक्रमणको चुनौती बढ्दै गइरहेको छ। वन डढेलोको चुनौती बढ्दै गइरहेको छ। मानव र वन्यजन्तुबीच द्वन्द्वहरु बढ्दै गइरहेको छ। त्यसैले द्वन्द्व साथै चुनौतीहरुलाई क्रमश सरकार र वन तथा वातावरण मन्त्रालयले एउटा योजना नै बनाएर समाधान गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ।’

यस्तै, उनले स्थानीय समूदायको सहभागितामा नेपालले जलवायु परिवर्तनको क्षेत्रमा उल्लेखनीय प्रगती गरेको बताए। उनले नेपालले वन क्षेत्र मात्रै नभइ अन्य पारस्थितिक प्रणालीलाई समेत सन्तुलनमा राखेको दाबी गरे।