कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको विषयलाई गम्भीर रुपमा लिएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफलमा उनले राष्ट्रले धान्न सक्ने स्रोत र साधनभित्र रहेर आवश्यक सुधार गर्न प्रतिवद्ध रहेको बताए।

उनले भने,‘नेपालको जेलमा पनि धेरै समस्या छन्। क्षमताभन्दा बढी कैदीहरु बस्नुपर्ने अवस्था छ। अनेक अप्ठ्याराहरु छन्। कहिले काहीँ गल्ती नगरेको मानिस पनि जेल जान्छ। गल्ती गरेकै कैदीहरुको पनि बालबच्चा हुन्छन। उनीहरुको भरणपोषणको सवाल हुन्छ। त्यसलाई कसरी श्रममा उपयोग गर्ने, म्यानपावरको कुरामा केके सुधार गर्न सकिन्छ। राष्ट्रले धान्न सक्ने स्रोत साधनभित्र रहेर जे जे जहाँ जहाँ सुधार गर्न सकिन्छ त्यसमा काम गर्नपर्छ। बाल सुधार गृहमा कारागारमा तथा नयाँ कारागारहरु निर्माण गने कुरामा निर्देशन अनुसार काम गर्न तयार हौँ। कानुनी रुपमा केके गर्न सकिन्छ म गर्न तयार छु।’ 

उनले कानुनमा सुधार गर्न समितिले निर्देशन दिए त्यसलाई लिएर अगाडि बढाउने बताए। उनले भने,‘आम जनाताले भोग्नुपरेका विभिन्न विषयहरुको कानुनमा कसरी सुधार गर्ने यो समितिले निर्देशन दिए त्यसलाई म एकदम अगाडि बढाउने छु।’