नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले देशलाई रुपान्तरण गर्नेगरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन प्रस्ताव गरेकी छिन्।
त्यस्तै, उनले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई प्रशिक्षण दिन, आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने गरी स्पष्ट रोडम्याप र एजेण्डा तय गर्न नेतृत्वलाई सुझाव दिएकी छिन्।
बिहीबार सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै डा.संग्रौलाले भनिन्, ‘हामीले महासमितिको बैठकबाट आगामी चुनाव एक्लै लड्ने घोषणा त गरयौँ, तर हाम्रो एजेन्डा के हो ? भिजन के हो ? देशलाई रुपान्तरण गर्ने गरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन, सरकारलाई निर्देशन दिन र देशव्यापी प्रशिक्षण आयोजना गर्न म आग्रह गर्दछु।’
त्यस्तै, उनले सरकार निरङ्कुश बन्छ कि भन्ने त्रास बढीरहेकाले कांग्रेस स्वयमले खबरदारी गर्नेदेखि सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरुलाई प्रशिक्षण, छलफल र अन्तरक्रिया गराउनुपर्ने बताइन्। भ्रातृ सङ्गठनहरुको अधिवेशन लामो समयदेखि हुन नसक्दा देशभर सङ्गठनको गतिविधि सुस्त भएको, चहलपहल घटेकाले तत्काल अधिवेशन गराएर सङ्गठनलाई चलायमान बनाउन उनले माग गरिन्।
डा.संग्रौलाले नेपाली कांग्रेसको प्रमुख एजेन्डा संविधान संशोधन हुनुपर्ने पनि बताइन्।
‘संविधान संशोधन गर्न सामान्य प्रक्रियाले सम्भव नहुने भएकाले पहिले पुनरवलोकनका लागि विशेषज्ञहरु सम्मिलित एक उच्चस्तरीय कार्यदल (टास्क फोर्स) बनाउन कांग्रेसले प्रस्ताव अघि बढाउनुपर्छ। समितिले तयार पारेको प्रतिबेदनमा दलहरु सहमत भएपछि संविधान संशोधनको प्रस्ताव विधेयकको रुपमा अगाडि बढाउन कांग्रेसले पहलकदमी लिनुपर्छ। पुनरवलोकन गर्दापनि गाउँ-गाउँ र दुरदराजसम्म पुगेर जनमत सङ्कलन गर्न पनि म सुझाव दिन चाहन्छु,’ उनले भनिन्।