संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ। 

सिंहदरबारमा आज (बिहीबार) बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो।

बैठकमा समिति सभापति विमला सुवेदीले प्रतिवेदनको मस्यौदालाई प्रस्तुत गरिएको रुपमा नै पारित भएको घोषणा गरेकी हुन्। उनले समितिबाट पारित भएको विधेयकलाई संसद्को अर्को बैठकमा पेस गर्नेगरी पत्राचार गर्ने बताइन्।

उनले  भनिन्, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धि समितिको प्रतिवेदनको मस्यौदालाई प्रस्तुत भएकै रूपमा पारित भएको  घोषणा गर्छु। आजको बैठकबाट पारित भएको समितिको प्रतिवेदनलाइ प्रतिनिधिसभाको आगामी बैठकमा पेस गर्ने व्यवस्था मिलाइदिनको लागि सम्माननीय सभामुख समक्ष पत्रका साथ अनुरोध गरिने व्यवस्था मान्य सदस्यलाई अवगत गराउँछु।’      

त्यस्तै, बैठकमा कानूनमन्त्री अजय कुमार चौरसियाले मानव अधिकार उलंघन गर्ने, पीडितलाई न्याय दिने, गल्ती गर्नेलाई सजाय गर्ने लगायतका विभिन्न सवालमा दलहरुबीचको सहमति महत्वपूर्ण रहेको बताए।