विराटनगरको कोशी अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

कोशी अस्पतालबाट भागेका कैदी विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई बुधबार पक्राउ गरेको हो।

नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट अहमदलाई पक्राउ गरिएको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमद साउन १७ गते बिहान अस्पतालबाट फरार भएका थिए।

उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो। जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो।