झापाको कनकाई नगरपालिकामा पाँच दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
कनकाई-१ मा बस्ने इलाम घर भएकी अन्दाजी ४१ वर्षीया उमादेवी चापागाईंको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा हिजो दिउँसो ३ः३५ बजे मृत्यु भएको हो।
उनलाई साउन १७ गते बिहान ९ः४० बजे कनकाई–१ जुके कल्भर्टस्थित पूर्व–पश्चिम राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको को. ३८ प ५३६८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
दुर्घटनापछि मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–४ बस्ने अन्दाजी ४० वर्षीय दुर्गाप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको डिएसपी प्रकाश विष्टले बताए। मोटरसाइकल भने इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ।
उमादेवी कनकाई नगरपालिकाअगाडि अञ्जु कार्कीको होटलमा सहयोगीका रुपमा कार्य गर्दै आएकी थिइन्। उनका पतिले ३ वर्षपहिले आत्महत्या गरेका थिए।