सामान्यता लमी भनेको विवाहका लागि केटाकेटी र परिवारबीच सूचना आदानप्रदान गर्ने मध्यस्तकर्ता हो। गाउँघरमा अझै पनि विवाहका लागि वर वा वधू खोज्दा लमीको सहयोग लिने प्रचलन छ। लमी राखेर विवाह गर्ने चलनलाई कायम राख्न हामीले निजी क्षेत्रबाट सहयोग गरिरहेका छौँ । संस्था नै स्थापना गरेर लमीको भूमिका निर्वाह गरिरहेका छौँ। करिब पाँच वर्षसम्म अनौपचारिक रूपमा आफन्तहरूका निम्ति लमीको काम गरेका थियौँ । बिस्तारै संस्थागत रूपमै काम गर्ने भनेर कम्पनी रजिष्ट्रार कार्यालयमा संस्था दर्ता गरेर काम गरिरहेका छौँ।
२०७७ सालको मङ्सिर १७ गते ‘लमी नेपाल प्रा.ली’ दर्ता गरेर काम गरिरहेका छौँ। खासमा आफ्नै परिवारमा घटेको एउटा सामान्य घटनाबाट संस्था खोल्ने सोच आएको हो। मैँले विवाह गरेको १३–१४ वर्ष भयो। मेरो दिदीको विवाह भएको १५ वर्ष भयो। सोही बेला चुनौती मोल्नुपरेको थियो। जस अपजसको कुरा आयो। परिवारभित्रै यस्तो कुरा आउँछ भने विवाह चाहिँ कसले गराइदिने भन्ने प्रश्न उब्जियो। त्यही क्रममा हामीले यो एउटा बिजनेस हुन्छ भनेर यस्तो कामको अवधारणा ल्याएका हौँ। दुवै पक्षको सूचना एक अर्कामा लगिदिने काम गर्ने गएका छौँ। जिम्मेवारी लिँदैनौ तर मध्यस्तकर्ता रूपमा चाहिँ काम गएका छौँ। सुरुवाती चरणमा एकदमै सकारात्मक पाएका थियौँ।
पहिले हामी सम्बन्धित व्यक्तिको सूचना लिन्छौँ। रोजगारी, व्यवसाय के हो सबै बुझ्छौँ। जानकारी लिन घरसम्म पनि पुग्छौँ। पहिले आफैँ विश्वस्त हुन्छौँ। विश्वस्त भइसकेपछि उहाँहरूलाई विश्वस्त बनाउँछौँ। पहिलेका लमीहरूले व्यक्तिगत रूपमा यो घर को केटा यस्तो छ, त्यो घरको केटा उस्तो छ भन्दै गर्नुहुन्थ्यो। तर हामी सिस्टममा गर्छौ। सबै कुरा हेर्नको लागि कर्मचारी राखेका छौँ। फोटोहरू गुगल ड्राइभमा राख्छौँ, फेसबुकमा पनि फोटो राख्छौँ। ग्रुपमा पनि सल्लाह हुन्छ। अनि बल्ल देखाउन थाल्छौँ। विवाह भनेको दुई वटा परिवारको कुरा हो। त्यसैले दुई परिवारको संलग्न गराउँछौ। शाकाहारी र मांसाहारी दुबैका लागि मिल्दो जोडी खोज्छौँ। काठमाडौँमा घर चाहिएकोलाई त्यही अनुसारका व्यक्ति पहिचान गर्छौ।
सूचना आदानप्रदान गर्दा पनि गोपनीयताको ख्याल राखेका हुन्छौँ। सुनाउनुभन्दा पहिले व्यक्तिको नाम, फोन नम्बर राख्छौ तर ठ्याक्क ठेगाना दिँदैनौ । यो ठाउँमा घर छ भन्यो, सक्यो। यत्तिको मान्छे ठिक छ कुरा अगाडि बढाऊँ भन्ने भएपछि मात्र फोटो पठाउँछौँ। सबै कुरा बताइदिन्छौँ। पहिले त मागी विवाहमा जात समुदाय चाहिन्छ, जात मिलेन भने हुँदैन। उहाँहरूले यो चाहिँ जातकोसँग चाहिँ गर्छु भन्नुभयो भने प्रक्रिया अघि बढाउने हो। कम्पनी भएकाले ग्राहकले जे सुविधा माग्छन् त्यही दिने हो। हाम्रो प्रचलन के छ भने केटीले पायक पर्ने ठाउँमा बोलाउँछ र त्यहाँ केटा जानुपर्छ। व्यक्तिगत गोपनियतालाई बढी ध्यानमा राखेर काम गर्ने गएका छौँ।
विदेशमा केटाकेटी भए जुम मिटिङ गराउने गराउँछौ । मिटिङ चाही मन परिसकेपछि लगभग बिहे हुन्छ है भन्ने भएपछि गराउने हो । त्यसपछि शुल्कको कुरा आउँछ । पहिले ५० प्रतिशत लिन्छौँ। अनि नाम ठेगाना नम्बर सबै दिन्छौँ । त्यसपछि आफैँ पनि जान सक्नुहुन्छ भनेर सम्झाउँछौ । यहाँ आउने व्यक्तिको डकुमेन्ट भनेको व्यक्तिको सम्पूर्ण विवरण लिन्छौँ । नाम, थर, गोत्रको विवरण लिन्छौँ । मावलीको थरसँग विवाह गर्न नहुनेले सोही अनुसारको जानकारी लिन्छौँ । अरू डाटासँग म्याचिङ गर्छौँ ।
हामीसँग प्रायः डिभोर्स भएका, पहिलो विवाह बिग्रेका व्यक्तिहरू आउनुहुन्छ । पछिल्लो समयमा अलिकति पाको उमेरका व्यक्तिहरू पनि आउन थाल्नुभएको छ । नयाँ व्यक्ति वा भर्खर विवाह गर्न उमेर पुगेकाहरू पनि आउनुहुन्छ । तर सङ्ख्यात्मक रूपमा ७० प्रतिशत डिभोर्स भएको र अलि बढी उमेरको हुनुहुन्छ । दिमागको औषधिहरू खानेहरू अर्थात् मानसिक सन्तुलन राम्रो नभएकाहरू पनि आउनुहुन्छ । आजभोलि चाहिँ धेरैजसो प्रेम विवाह नै बढी हुन थालेको छ । प्रेम असफल हुनेहरू पनि आउनुहुन्छ । सम्बन्ध थियो भर्खरै बिग्रियो, जोडी खोजिदिनुपर्यो, बिहे अहिले नै गर्दिन दुई वर्षसम्म हेर्छु, विचार गर्छु भन्ने खालको मानिसहरू पनि आउनुहुन्छ । नेपालको कानुनले दिएको मात्र काम गर्छौँ । त्यो भन्दा बाहेक गर्दै गर्दैनौ । कुनै हालतमा गर्दैनौ, बरु काम नगरी बस्छौँ । कहिलेकाहीँ १८ वर्षको भए केटी खोजिदिनुहोस् भन्नेहरू पनि आउनुहुन्छ । त्यस्तालाई हामी अब दुई वर्ष चुप लागेर बस्नुहोस् भन्र्छौ । हामीसँग आएर बिहे गर्नेले सयौँबाट छान्ने हो । त्यसैले पनि परम्परागत लमी भन्दा धेरैको रोजाइमा पर्न सकेका हौँ।
बिहे गराइदिने नाममा मानव बेचबिखन हुने गरेको सुन्र्छौ। यस विषयमा संवेदनशील छौँ। बिहे गरेर विदेश लैजान्छु भन्दै आउनेहरूप्रति अलिक शङ्का लाग्ने गर्छ । त्यसको मजाले अध्ययन गरेर गैर कानुनी हो कि जस्तो लाग्यो भने च्याप्टर बन्द गएका छौँ। आधिकारिक डकुमेन्टहरू राम्रोसँग चेकजाँच गरेर मात्र प्रक्रिया अगाडि बढाउँछौँ। त्यसैले पनि त्यस्तो समस्या आउँदैन। संस्था दर्ता गरिसकेपछि हामीले लगभग २१ जोडीको विवाह गराइसकेका छौँ। त्यसमध्ये १३–१४ जोडी डिभोर्सवाला हुनुहुन्छ भने अरू नयाँ जोडीको बिहे गराइदिएका छौँ। आजसम्म कुनै ठाउँबाट गुनासो आएको छैन। संस्थामार्फत समाजमा केही न केही योगदान दिने काम गरेका छौँ भन्ने लाग्छ। अपाङ्ग, मानसिक रोगीहरूले पनि विवाह गर्न सफल हुनु भएको छ। त्यसैले पनि राम्रै काम गरेका छौँ भन्ने लाग्छ।