रसुवा जिल्लास्थित नेपाल–चीन सीमानामा रहेको लेन्दे खोलामा असार २४ गते आएको बाढीले सम्पर्कविहीन बनेका व्यक्तिहरूको खोजी, उद्धार र अवरुद्ध सडक मर्मतका लागि नेपाली सेनासहितको टोली सक्रिय रूपमा खटिएको छ।
नेपाली सेना, अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाको संयुक्त टोलीले रसुवाको लिङलिङ, रुङ्गापुल, सल्लेटार, गुम्चेत र टिमुरे क्षेत्रका साथै नुवाकोट, धादिङ र चितवनका विभिन्न स्थानमा उद्धार तथा पुनर्स्थापना कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ।
हालसम्म रसुवाको लिङलिङ र रुङ्गापुल क्षेत्रमा सडकमा खसेको पहिरो हटाउने र वैकल्पिक बाटो निर्माण गर्ने कार्य भइरहेको छ। यस्तै, नुवाकोटमा त्रिशूली नदीले कटान गरेको क्षेत्रमा ग्याबिन जाली लगाउने काम पनि तीव्र गतिमा अघि बढिरहेको छ।
उद्धार टोलीले प्रभावित क्षेत्रमा थप राहत र पुनर्स्थापनाका लागि निरन्तर प्रयास गरिरहेको प्रशासनलाई जानकारी प्राप्त भएको छ।
बाढी र पहिरोले प्रभावित बनेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र आधारभूत सुविधा उपलब्ध गराउने कार्य पनि प्राथमिकतामा राखिएको छ।