इटहरी। नेपाली कांग्रेसको कारबाहीमा परेका कांग्रेसका खोटाङ जिल्ला सभापति विष्णुकुमार राईले आफूमाथि एक वर्षको निलम्बनसहितको राजनीतिक कारबाहीपछि जनस्तरबाट प्राप्त सद्भावनाले आफूलाई पुनः ऊर्जावान् बनाएको बताएका छन्।
शुक्रवार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावुक अभिव्यक्तिमा उनले कारबाहीपछि जनस्तरबाट प्राप्त सद्भावनाले आफूलाई थप उचाइ दिएका बताएका हुन्।
उनले लेखेका छन्, ‘फेरि एक पटक निष्ठा र त्यागको राजनीतिले जगतबाट पृष्ठपोषण पाएको छ।’ राईका अनुसार राजनीतिकमा धूर्त, फट्याई र चाकडिवाजहरुको वर्चस्व रहेको बताए।
राईले भने, ‘धूर्त, फट्याई र चाकडिवाज’हरुले वर्चस्व जमाएको भान भइरहेका बेला पनि सत्य र निष्ठाको पक्षमा उभिन जनताको साथले आफूलाई थप उचाइ दिएको छ।’
उनी थप लेख्छन्,‘जब म माथि १ वर्षे नसिहतको कारबाही सार्वजनिक भयो, जगतले त्यसप्रति गरेको खेद प्रकट र ममाथि देखाएको सदाशयताले पुनः मेरो राजनैतिक निष्ठाको सगरमाथाले थप उचाई प्राप्त गरेको अनुभूति पाइरहेछु।’
अभिव्यक्तिमा राईले आफ्ना पुराना राजनीतिक स्मृतिहरू पनि साटेका छन्।




















