नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा बढाएको छ।
शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति मार्फत घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा बढाएको बताएका छन्।
यस्तै, उनले दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने पनि बताए।
उनले भने, ‘दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपनि कार्यान्वयनमा ल्याइने छ। निजी आवासीय, घर निर्माण गर्न वा खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा रु २ करोडबाट बढाएर, रु।३ करोड कायम गरिने छ। पहिलो घर निर्माण वा खरिद गर्दा यस्तो कर्जाको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था मिलाइने छ।’
यसको साथै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने कर्जाको सीमा पनि बढाएको उनले जानकारी दिए।
उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा १५ करोडबाट बढाइ २५ करोड रुपैयाँ पुर्याइनेछ।’
न्यून र मध्यम आय भएका घर परिवारको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरूले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्यांक गरी १० लाखसम्म कृषि वा व्यवसाय कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिने पनि उनको भनाई छ।
उनले भने, ‘कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरण गरी न्यून र मध्यम आय भएका घर परिवारको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरूले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्यांक गरी १० लाखसम्म कृषि वा व्यवसाय कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिने छ।’