विभिन्न कालखण्डका ऐतिहासिक घटनाक्रमको साक्षी बन्दै स्वर्णिम इतिहास रचेको बेलबारी जैविक विविधताले भरिपूर्ण छ। यहाँको पर्यटकीय क्षेत्रको रूपमा विकसित भएको बेतना सिमसार बेलबारीका लागि वरदान साबित बन्दै आएको छ।
१७४ दशमलव ९१ हेक्टर क्षेत्रफलमा फैलिएको बेतना सिमसारमा विशेष गरी आन्तरिक पर्यटक भ्रमणमा आउने गर्छन् र निकै थोरै मात्रामा बाह्य पर्यटकसमेत पुग्ने गरेका छन्। गर्मीमा शीतल खोज्दै मानिसहरू बेतना जान्छन् भने जाडो याममा वनभोज खान पुग्ने गर्छन्। प्रत्येक शुक्रबार र शनिबार बेतनामा विशेष भिड हुने गरेको छ। बेतनामा जरुवाको पानी आइरहने हुनाले कुनै समय सिँचाइका लागि कटकबहादुर बस्नेतको अगुवाइमा ‘कटके’ बाँध नाम दिएर सुरु भएको बेतना सिमसारको विकासक्रम अहिले पर्यटकको घुइँचो लाग्ने बेतना सिमसार वन उपभोक्ता समूहसम्म आएको छ।
यस सिमसार क्षेत्रमा विभिन्न किसिमका जलचर तथा पशुपक्षीहरू देख्न सकिन्छ। कछुवा, माछा, घोगी, सिपी, गँगटा, भ्यागुता आदि जलचर रहेको यस सिमसारमा पानी हाँसका बथान, साइबेरिएन हाँसका हुल र विभिन्न प्रजातिका बकुल्ला देख्न सकिन्छ। पुतली तथा चराको अध्ययन गर्ने मानिसहरू पनि बेतना पुग्ने गरेका छन्। मयूर पङ्खे खपटा भएको कछुवाको हटस्पटका रूपमा परिचित यस सिमसारको कैयन विशेषता छन्।
आज सोमबार बिहान बेतना सिमसारमा अन्य दिनको भन्दा फरक माहौल थियो। सिमसारमा बिहानै महिलाहरूको भिड देखियो तर उक्त भिड सिमसार भ्रमणका लागि नभएर पोखरीको जल उठाउन आएका रहेछन्। उक्त भिड बेलबारी ११ का भजन मण्डली महिला समूहको थियो। उनीहरू बेतनाको जल उठाएर बेलबारी ११ मा अवस्थित श्री कारेश्वोर महालक्ष्मी मन्दिरमा जल चढाउने तयारीमा रहेछन्। १०० बढीको समूहमा आएका महिला भक्तजनहरू बेतनाको जल शुद्ध हुने विश्वासले उपस्थित थिए।
बेतनाको पोखरीबाट जल लिएर मन्दिरमा चढाउने चलन निक्कै अघि देखि प्रचलनमा रहेको बेतना सिमसार सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष शम्भु भट्टराईले जानकारी दिए। उनले भक्तजनहरूलाई स्वागत गर्न पाएकोमा आभार व्यक्त गरेका छन्। बेतनामा कुनै खोलानाला वा पुलेसोको पनि नभई आफ्नै भूमिको जरुवाबाट उत्पत्ति भएको जल रहेको छ। उक्त जल धार्मिक कार्यका लागि शुद्ध जलको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सहयोग पुर्याएका भक्तजनहरूलाई अध्यक्ष भट्टराई धन्यवाद दिएका छन्।
सार्वसाधरणका माझा पर्यटकीय क्षेत्रका रूपमा मात्रै परिचित बेतना सिमसारले यस किसिमका गतिविधिबाट धार्मिक पर्यटकको संख्या बढाउनेमा सिमसार कार्यसमिति विश्वस्त छ। अझ सिमसारको वर्तमान कार्यसमितिले त बेतनालाई धार्मिक पर्यटकीय स्थल बनाउने गुरु योजनामा गृहकार्य नै भइरहेको जिकिर प्रस्तुत गरेको छ।
विगतका कमीकमजोरी र विभिन्न लाञ्छनाको भारी बोकेर हिँडेको सिमसारको कार्यसमितिले आफ्ना महत्वकांक्षी योजना समयमै पुरा गरी सर्वसाधरण माझा आहा बेतना भन्ने बनाउनु वाञ्छनीय देखिन्छ। फटाफट न्युजका लागि क्यामेरामा मदन खतिवडाको साथमा नीरज खवास, बेलबारी।