राष्ट्रिय परीक्षा बोर्डका अनुसार शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलबाट ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। 

परीक्षाफल अनुसार १ लाख ८७ हजार विद्यार्थी ननग्रेडेड (एनजी) भएका छन्। परीक्षामा सहभागी भएका नियमिततर्फका ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थीमध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी अर्थात् ५२.९१ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन्। 

सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी छन्। उक्त जीपएमा पास हुनेको संख्या ७८ हजार ७५ रहेको परीक्षा बोर्डले जनाएको छ।

२.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ रहेको छ भने ३.२१ देखि ३.६० जीपीए प्राप्त गरेर ४६ हजार ८ सय ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन्। 

सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ रहेको परीक्षा बोर्डले जनाएको छ। गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।

बोर्डका अनुसार कुल विद्यार्थीमध्ये एक सय २२ विद्यार्थीको नतिजा रद्द भएको छ। परीक्षाको मर्यादा कायम नगरेका विद्यार्थीको परीक्षा रद्द हुन्छ। परीक्षा हलमा चिट चोर्ने, निरीक्षक र परीक्षामा संलग्न व्यक्तिहरुलाई अभद्र व्यवहार गर्ने जस्ता कृयाकलाप गर्ने विद्यार्थीको परीक्षा रद्द हुन्छ।