पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुल्सीलाल अमात्यले किसानहरुको लागि क्रान्तिकारी काम गरेको बताएकी छिन्।

२७ औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा बोल्दै उनले कम्युनिष्ट नेतामा हुनुपर्ने गुण तुल्सीलालमा भएको जिकीर गरेकी हुन्। 

उनले भनिन्,‘तुल्सीलालले क्रान्तिकारी काम गर्नुभएको छ। २००६ साल भाद्र ३० गते नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सङ्गठन समितिको सदस्य बन्नुभयो। यसरी नेपालको कम्युनिष्ट आन्दोलनमा नेकपाको स्थापना कालदेखि नै नेतृत्वदायी भूमिकामा रहदैँ आउनु भएका तुल्सीलाल अमात्य जसको नेतृत्वमा मधेशका जिल्लाहरुमा किसान आन्दोलनको अगुवाई गर्नुभएको थियो। उक्त आन्दोलनको शिलशिलामा करोडौँ रुपैयाँ बराबरका जाली तमशुकहरु च्यात्ने काम समेत गरेर क्रान्तिकारी काम उहाँले गर्नुभएको थियो।’

साथै उनले तुल्सीलाल अमात्य अर्थशास्त्रका ज्ञाता भएको समेत बताइन्। उनले पार्टीलाई क्रान्तिकारी धारमा ल्याउन तुल्सीलालको भूमिका महत्वपूर्ण भएको दाबी गरिन्। उनले अमात्यको उच्च क्रान्तिकारी, नौतिकता, चरित्रबाट वर्तमान तथा भावी पुस्ताले प्रेरणा लिनुपर्ने बताइन्।